तस्वीरः प्रतिनिधिसभामा बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताउनुभएको छ । प्रतिनिसिभाको आजको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सहकारी संस्थाविरुद्धको उजुरीले ब्युरोको कोठा भरिन लागेको सदनलाई जानकारी गराउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकमा सहकारी संस्थाका विषयमा सांसद्ले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकारले सहकारी नियमनका लागि काम गरिरहेको जानकारी दिंदै भन्नुभयो —‘हाम्रो एक जना माननीयले सहकारीको समस्याको बारेमा ध्यानाकर्षण गराउनुभयो । निश्चित हो, अहिले हाम्रो सिआइवीमा मात्रै पनि सहकारीको उजुरी हेर्ने हो भने त्यसैको उजुरीको चाङले कोठा भरिएको छ’ भन्नुभयो ।
मन्त्री श्रेष्ठले अहिले सहकारीको ठुलो समस्या रहेको चर्चा गर्नुहुँदै यसबारेमा सहकारीले अर्थ मन्त्रालय, भूमि, गरिबी निवारण तथा सहकारी मन्त्रालय र सहकारीसँग सम्बन्धित अरू पक्षहरूसँग बसेर पनि छलफल गरेको जानकारी गराउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो —‘यस सम्बन्धमा अध्ययन र छानविनको लागि एउटा समिति समेत गठन गरिएको छ । समस्या समाधानका उपाय निकाल्नका निम्ति हामी पहल गर्दैछौँ । केही अनियमितता छन्, केही तरलता अभावका कारण भएका समस्याहरू पनि देखा परेका छन् ।’

गृहमन्त्री श्रेष्ठले सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्नुहुँदै ट्राफिक प्रहरीको स्वास्थ्य अवस्थाको बारेमा समेत सरकार संवेदनशील रहेको बताउनुभयो । नेपाल प्रहरीका साथै निजामती कर्मचारीलाई योग र ध्यान गराउने कार्य अघि बढाउन लागेको कुरा गृहमन्त्री सदनलाई जानकारी गराउनुभएको थियो ।