फाइल तस्वीरः भरतपुर महानगरपालिका ।
चितवन — भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट विनियोजन गरेको हो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पेश गर्नुभएको बजेटमा आयव्यय उल्लेख गरिएको छ । जसअनुसार महानगरको आयमा आन्तरिक स्रोतबाट एक अर्ब ७५ करोड रुपैयाँ, सङघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार रुपैयाँ, जनसहभागिताबाट ५० करोड रुपैयाँ, सडक बोर्ड नेपालबाट आउने तीन करोड रुपैयाँ र बैंक मौज्दात एक अर्ब ६५ करोड रुपैयाँ उल्लेख गरिएको छ ।

अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित एक अर्ब १० करोड रुपैयाँ रहने महानगरले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एक अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल २९ वटा वडा रहेको भरतपुर महनगरपालिकाले प्रत्येक वडालाई दुई करोड ७५ लाख रुपैयाँका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको ।मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारा दिएको भरतपुर महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी महानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पु¥याउन कटिबद्ध रहेको जनाएको छ ।