तस्वीरः सिँचाइ योजना
पर्वत – पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको हो । सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना दुई लाख रुपैयाँका दरले ती योजना निर्माण गरिएको हो ।

कार्यालयका अनुसार सहकारी, फार्म, कृषक समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताका आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको थियो । धान जोन कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ लागतमा ६० योजना सम्पन्न भएर यसै वर्षदेखि कृषकले सिँचाइ सुविधा उपभोग गर्न पाएका हुन् । कार्यालयले चालु आव २०७९/८० मा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको जनाएको छ ।

तीस सेन्टिमिटर चौडाइ र एक सय मिटरभन्दा बढी लम्बाइका सिँचाइ कुलो, स–साना बस्ती, फाँट, तरकारी फार्म र कृषक समूहका लागि यस्ता योजना उपयोगी भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

किसानले पहिला खोला–खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकामा साना सिँचाइ आयोजनाले थप सहज भएको बताएका छन् । पकुवा साना सिँचाइ आयोजनाका कृषक पदम विक र सल्यान कृषक समूहका प्रकाश पोखरेलले ठूला नहर र मुख्य पानीको स्रोत अभाव हुने स्थानमा पनि सिँचाइ गर्न सजिलो भएको बताउनुभयो ।

पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोलाखोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना पर्वतमा प्रभावकारी देखिएका छन । साना सिँचाइ आयोजनाले पर्वतका किसानलाई धान रोप्न तथा धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न सजिलो भएको छ ।

आव सकिनै लाग्दा कृषकका लागि सरकारले गरेका लगानीको स्थलगत अनुगमन तथा सामाजिक लाभको मूल्याङ्कन गर्न उक्त कार्यालयले सक्रियतासमेत देखाएको छ । पर्वतका नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झन्डै छ हजार हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ । तर मौसमी पानीको स्रोत भएका ठाउँमा साना सिँचाइले टेवा पुगेको कटुवाचौपारीका कृषक सुरेश पिसीले जानकारी दिनुभयो ।