कर्णाली — जुम्लाको सिञ्जा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्थालाई सुधार गर्नका लागि पालिका भित्रका सामुदायिक विद्यालयमा वडा समिति गठन गरेको छ । विद्यालयमा खस्कँदै गएको शैक्षिक अवस्थालाई गुणस्तरीयता कायम गर्नेका लागि पालिकाको छवटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शङ्कर धितालले जानकारी दिनुभयो ।

वडा समितिले आफ्ना वडा भित्रका शैक्षिक संस्थालाई चलायमानदेखि नियमन सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन विद्यालयमा वडा समिति गठन गरेको शिक्षा शाखाका उहाँको भनाइ छ । 

पालिका भित्रका १९ सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रमसमेत सञ्चालन गरेको सिञ्जा शिक्षा शाखाका प्रमुख  धितालले बताउनुभयो ।

सिञ्जाका सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रमले शैक्षिकमा राहत पुग्ने सिञ्जा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

शिक्षा क्षेत्रलाई केही सुधार गर्नका लागि यहाँका विद्यालयमा वडा समिति र अभिभावक शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका हुने भएकाले अभिभावक, शिक्षक तथा विद्यार्थीबीच अन्तरक्रिया र विद्यालयको आमूल शैक्षिक परिवर्तनका लागि अभिभावक शिक्षा  कार्यक्रम सञ्चालन स्थानीय सरकारको विशेष ध्यान गएको सिञ्जा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालको भनाइ छ ।

विद्यार्थीको वास्तविक सिकाइ अवस्था पहिचान गर्नका लागि शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र अभिभावकबीच शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई हल गर्नेका लागि पालिकाको शिक्षा शाखाले सञ्चालन गरेको सो कार्यक्रम महत्वपूर्ण रहेको मालिका मावि धापाका शिक्षक परेक खत्रीले बताउनुभयो ।

आगामी आउने आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनुभन्दा पहिला नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि विद्यालयको समस्या गुनासो र शैक्षिक क्षेत्रलाई विकास गर्नेका लागि सबै निकायबाट सुझाव सङ्कलन गरेको सो शाखाले जनाएको छ ।  शाखाले विद्यालयमा लागू गरेको वडा समिति गठन र अभिभावक शिक्षा कार्यक्रमले यहाँका विद्यार्थीलाई निकै राहत पुगेको जनाइएको छ ।