फाइल तस्वीर

काठमाडौं — नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।

चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो । चीनको बिआरआई परियोजना सन् २०१७ मा सुरु भए पनि पुरानो परियोजनालाई चीनले बिआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ ।

नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गर्नुपूर्व नै पोखरा विमानस्थल निर्माण अघि बढेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताउनुभयो । ‘नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको थियो,’ गौतमले भन्नुभयो, ‘ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो । ’चिनियाँ अधिकारीले बिआरआई परियोजनासँग जोडेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो । ‘पोखरा विमानस्थलसँग बिआरआईको कुनै साइनो छैन,’उनले भने, ‘बिआरआईसँग जोड्दा अन्य मुलुकले यसप्रति हेर्ने दृष्टिकोण फरक हुन सक्छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजना गरिऐको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले विमानस्थल बिआरआई परियोजनाअन्तर्गत निर्माण भएको बताउनुभयो । बुधबार चीनको छेन्दुुबाट पोखरा आएको पहिलो सिचुुआन एयरलाइन्सको चार्टर उडान अवतरण भएपछि आयोजित कार्यक्रममा राजदूत सोङले यस्तो बताउनुभएको हो । चीनको करिब २२ अर्ब रूपैयाँ ऋण लगानीमा निर्माण गरिएको विमानस्थललाई चीनले बिआरआई परियोजनामा जोड्नु राजनीतिक स्वार्थ भएको परराष्ट्र विज्ञ बताउँछन् ।

नेपालले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पास गरेपछि बिच्किएको चीनले नेपालमा आफ्नो बलियो राजनीतिक उपस्थिति देखाउन विमानस्थल परियोजनालाई एकपक्षीय ढंगले बिआरआईसँग जोड्ने प्रयास गरिरहेको छ ।

नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको हो । ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो ।— सञ्जीव गौतम,पूर्वमहानिर्देशक, क्यान

चीनले नेपालमा आफ्नो प्रभाव देखाउन पोखरा विमानस्थललाई बिआरआईसँग जोड्न खोजेको पराराष्ट्र विज्ञ विजयकान्त कर्णले बताउनुभयो । नेपालसँग बिआरआई आउनुभन्दा पहिल्यै पोखरा विमानस्थल बनाउने सम्झौता भएको कर्णले बताउनुभयो । ‘पोखरा विमानस्थलसँग बिआरआईको कुनै सम्बन्ध छैन,’ पूर्वराजदूतसमेत रहेका कर्णले भन्नुभयो । ‘नेपालले एमसिसी परियोजना सम्झौता गरेपछि चीन बिच्किएको थियो,’कर्णले भन्नुभयो, ‘भारत र अमेरिकालाई देखाउन पनि यो परियोजनालाई बिआरआईलाई जोड्न खोजेको देखिन्छ ।’चीनले घुमाउरो ढङ्गले नेपाल आफ्नो प्रभाव क्षेत्र हो भन्ने देखाउन खोजेको उहाँले बताउनुभयो । नेपालले यो विषयमा बोल्नुपर्ने बेला आएको कर्णको धारणा छ । ‘सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । प्राधिकरणले विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकबाट ऋण लिएको थियो। जसमध्ये २५ प्रतिशत रकममा ब्याज नलाग्ने सम्झौता छ । बाँकी ७५ प्रतिशत रकम करिब साढे २१ अर्बमा भने २ प्रतिशत ब्याज तिर्नुपर्छ ।

पोखरा विमानस्थलको आगामी भदौबाट नेपालले चिनियाँ बैंकलाई ऋणको ब्याज तिर्न सुरु गर्नुपर्छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएकाले आम्दानीका आधारमा ऋणको ब्याज तिर्न कठिन हुने देखिएको छ । पोखरा विमानस्थलले ऋणको पासोमा पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । क्यानका अधिकारी भने ऋण तिर्न कठिन नहुने दाबी गर्छन् । विमानस्थल निर्माण सुरुका वर्ष लिएको ऋणका आधारमा नै तिर्ने भएकाले सुरुमा धेरै तिर्नुनपर्ने बताउँछन् । अहिले ऋणको साँवा, ब्याज तिर्न कठिन नहुने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । ‘सुरुका वर्ष थोरै पैसा खर्च भएकाले साँवाब्याज पनि कम तिरे हुन्छ,’निरौलाले भन्नुभयो, ‘भदौबाट साँवाब्याज तिर्न सुरु हुन्छ ।’विमानस्थलको आम्दानीले तत्काल ऋण तिर्न नसके पछि नाफा, घाटाका रूपमा हेर्न नहुने निरौलाले बताउनुभयो । ‘विमानस्थल दीर्घकालीन महत्वको परियोजना हो,’ उहाँले भन्नुभयो, ‘विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन थाले पछि आम्दानी पनि बढ्दै जान्छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग बिआरआईको कुनै किसिमको साइनो छैन। चीनले नेपालमा आफ्नो प्रभाव देखाउन पोखरा विमानस्थललाई बिआरआईसँग जोड्ने प्रयास गरेको देखिन्छ । — विजयकान्त कर्ण पूर्वराजदूत

पोखरा विमानस्थलले वार्षिक ६०–६५ करोड रूपैयाँ आम्दानी गर्ने अनुमान गरिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । ‘अपरेसन खर्च वार्षिक २०–२२ करोड हुने अनुमान छ,’ गौतमले भन्नुभयो । चीनबाट ऋण लिएर निर्माण गरिएको यस विमानस्थलको आम्दानीले तत्काल साँवा र ब्याज घटाउँदै जान सक्ने सम्भावना पनि कम भएकाले पूर्वमहानिर्देशक गौतमले बताउनुभयो । विमानस्थल दीर्घकालीन परियोजना भएकाले तत्काल नाफा, घाटाका रूपमा हेर्न नहुने उहाँको तर्क छ ।

जनवरी १ देखि आन्तरिकतर्फ ठुला आकारका जहाज उडान र अवतरण अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको छ । विमानस्थल आम्दानीको करिब ७५ प्रतिशत हिस्सा यात्रुसेवा शुल्क हो । बाँकी आम्दानी हवाई कम्पनीले ल्यान्डिङ, टेकअफ, सञ्चार, पार्किङ गरेबापत तिर्ने रकम हो । प्राधिकरणका अनुसार पोखरा विमानस्थल आफंैले सबै खर्च धान्न दैनिक कम्तीमा १०० आन्तरिक उडान र हप्तामा कम्तीमा ५० वटा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने विज्ञ बताउँछन् । अहिलेसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । बुधबार चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरेको छ । पोखरा पर्यटकीय गन्तव्य भएकाले आन्तरिक र विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । (आजको नागरिक दैनिकबाट)