काठमाडौं — हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।