महेन्द्रनगर-कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै छ । २०७३ भदौ १७ मा सम्झौता भएर काम थालिए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण पुलको ७५ प्रतिशत काम मात्रै सकिएको छ ।

यहाँस्थित सडक डिभिजन कार्यालय महेन्द्रका इञ्जीनीयर पियुष चटौतले पुल निर्माणको जिम्मा पाएको थेगिम–गाल्वा जेभीको कामप्रतिको उदासिनताका कारण निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो । रु पाँच करोड ४७ लाख ठेक्का सम्झौता भएको पुल निर्माणको अवधि तेस्रो पटक थपेर आगामी असार मसान्तसम्म पु¥याइएको छ ।

कम्पनीले निर्माणमा गरेको ढिलाइबापत पूर्व निर्धारित क्षतिपूर्तिसमेत सडक डिभिजन कार्यालयले तिराइसकेको छ ।“पुल निर्माणका लागि पटक÷पटक पत्राचार हुँदा पनि बेवास्ता भयो ।” उहाँले भन्नुभयो,“चालु आर्थिक वर्षमा त कामको प्रगति नै भएन् ।”

उहाँले स्थानीय जनप्रतिनिधिसमेत राखेर पुल निर्माणस्थलमा निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न आग्रह गर्दासमेत बेवास्ता गरिएको बताउनुभयो,“पुलको फाउण्डेशनको काम सकिए पनि एउटा स्ल्याप र पुलको दुवैतिर सडक दुवैतिरको काम बाँकी छ ।” उहाँले भन्नुभयो–“ चाँडो निर्माण सक्न दबाब दिइरहेकै छौंँ ।”

त्यसैगरी कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले ओदाल खोलामा पुल नहुँदा दोमिल्ला, सुन्दरीफाँटा र श्रीपुर गरी तीन वटा गाउँका स्थानीयबासी प्रभावित रहेको बताउनुभयो । “यहाँको सबैभन्दा लामो खोला भएकाले बर्षातमा बिरामीहरुलाई समेत तार्न सक्ने अवस्था रहदैन ।” वडाध्यक्ष बस्नेतले भन्नुभयो“ गत बर्ष खोला आएका बेला एम्बुलेन्स ल्याउन नसक्दा स्थानीयले अकालमै ज्यान समेत गुमाएको अवस्था हो ।” उहाँले पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरोकारवाल निकायलाई ताकेता गरिएको जानकारी दिनुभयो ।