दोधार चादनी- कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् । पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन् । बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि लागू गरिएको हो ।

बेलौरी नगरपालिकाका शिक्षा शाखाप्रमुख अमितप्रसाद भट्टले नगरपालिकाले स्थानीय पाठ्क्रपुस्त प्रकाशनको अन्तिम तयारी भइरहेको बताउनुभयो । “विद्यालयहरुमा यसै शैक्षिकसत्रदेखि लागू हुने गरी पाठ्यपुस्तक प्रकाशन गरिन लागेको हो”, उहाँले भन्नुभयो, “एक साता भित्रै विद्यालयमा स्थानीय विषयवस्तु समेटिएको पाठ्यपुस्तक पुग्छ ।” उहाँले गत वैशाखमा विद्यालयहरुलाई पाठ्यक्रम उपलब्ध गराए पनि पाठ्यपुस्तक प्रकाशन हुन समय लागेको बताउनुभयो ।

सङ्घीय सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार नगरपालिकाले पाठ्यक्रम बनाई पाठ्यपुस्तक प्रकाशन गर्न लागेका हुन् । यहाँको बेदकोट नगरपालिकाका शिक्षा शाखाप्रमुख मञ्जु थापाले कक्षा १ र २ को पाठ्यक्रम विद्यालयमा पठनपाठन सुरु भए पनि कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको बताउनुभयो । “पाठ्यक्रम निर्माण गरेर प्रकाशनमा ल्याउने अन्तिम चरणमा पुगेका छाँै छिट्टै विद्यालयमा स्थानीय पाठ्यक्रम सहितको पाठ्यपुस्तक पुग्छ”, थापाले भन्नुभयो, “विद्यार्थीहरुले पालिकाभित्रको ऐतिहासिक तथा धार्मिक सम्पदा लगायतका विषयवस्तु थाहा पाउने छन् ।” उहाँले पाठ्यक्रममा नगर क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति पर्वहरुका बारेमा पुस्तकमा समेटिएको बताउनुभयो । 

स्थानीय पाठ्यक्रममले पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने पुनर्वास नगरपालिकाका शिक्षा शाखाप्रमुख शिवराज भट्टले बताउनुभयो । “नगरपालिकाले १ देखि ८ कक्षा सम्मको पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकीय स्थलहरु, धार्मिक सम्पदाहरु र परम्परागत पर्वहरुको विषय समावेश गरेकोे छ”, उहाँले भन्नुभयो, “यहाँका मौलिक पर्वका बारेमा समेत विषयवस्तु राखिएको छ ।”

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताउनुभयो । “स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीय स्तरका भाषा, संस्कृति, कला र सम्पदाबारे विद्यार्थीहरु परिचित हुन्छन ।” उहाँले भन्नुभयो, “यसले विद्यार्थीहरुमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ ।” उहाँले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताउनुभयो ।