कास्की — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो ।

चीनबाट उडेको एयरलाइन्सले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा जानुभएको थियो ।

विमानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गर्नुभएको थियो । छ महिनाअघि व्यवसायिक रुपमा उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनभने सकेको थिएन । यो जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेरे काठमाडौं हुँदै चीन फर्किनेछ ।