काठमाडौं — हाल देशको पूर्वी तथा मध्य भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।