सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आज शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट विनियोजन गर्नुभएको हो ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार रुपैयाँ अर्थात् २६ दशमलव ९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ अर्थात् ५८ दशमलव ६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार रुपैयाँ अर्थात् १४ दशमलव ३८ प्रतिशत विनियोजन गरेको छ ।


बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । सङ्घीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुने ८ अर्ब ८४ करोड ३ लाख, वित्तीय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन्त्री सिंहले बताउनुभयो ।

सङ्घीय सरकारबाट प्राप्त् हुने समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख र विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख परिचालन गरिनेछ । यसैगरी सङ्घीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि १ करोड ८६ लाख ९० हजार स्रोत परिचालन हुने बजेटमा उल्लेख छ ।

सिंहले संविधानको धारा २०७ बमोजिम बजेट ल्याइएको बताउँदै रोजगारी मार्फत स्वरोजगारी सिर्जना गर्ने, प्रथम पञ्चवर्षीय योजना, ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचका साथ बजेट ल्याइएको बताउनुभयो ।

हेर्नुहोस् पूर्णपाठः