फाइल तस्वीर
वासिङ्टन डीसी — अमेरिकी प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदीले आगामी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको राजकीय भ्रमण गर्नु हुने बताइएको हो ।

भ्रमणका क्रममा मोदीले दोस्रो पटक अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले जुन २२ मा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीलाई राजकीय रात्रिभोजका लागि स्वागत गर्नेछन् । भ्रमणबारे एएनआईसँग कुरा गर्दै अमी बेराले भन्नुभयो, “मलाई लाग्छ अहिलेको समयको यो महत्वपूर्ण भ्रमण हो । तपाईंले अमेरिका–भारत सम्बन्ध बढ्दै गएको देख्नुभएको छ । पक्कै पनि, एसियाभित्र भूराजनीतिक चुनौतीहरू छन् र त्यसपछि भारत पनि उदीयमान आर्थिक शक्ति हो । त्यसैले मलाई लाग्छ अमेरिका–भारत व्यापार सम्बन्धमा काम गर्ने अवसर छ ।”

उहाँले थप्नुभयो, “हामी आपूर्ति श्रृङ्खला र महामारीबाट बाहिर आउने बारेमा धेरै कुरा गर्दैछौं । मलाई लाग्छ, दुई देशबीच मिलेर विकास गर्ने वास्तविक अवसर छ । दुई देशबीचको रक्षा साझेदारीका बारेमा सोधिएको प्रश्नको जवाफमा अमेरिकी सांसदले प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट ठोस कुरा बाहिर आउनुपर्ने र प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा त्यसबारे छलफल हुने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो भ्रमणबाट पक्कै पनि केही ठोस कुरा हुनुपर्छ । मलाई लाग्छ डिफेन्स स्पेस तीमध्ये एक हुनेछ । हेलिकप्टरको सह–उत्पादन, अधिक समुद्री साझेदारी तथा लामो समयदेखि सहकार्य गर्दै आएका सबै कामहरूको लेखा जोखा हुनेछ ।” उहाँले समग्र साझेदारीहरूमध्ये केहीलाई गति दिने यो वास्तविक अवसर हो र यसबाट निस्कने केही ठूला परिणामहरू छिट्टै सार्वजनिक हुने र यसबाहेक आपूर्ति श्रृङ्खला क्षेत्रमा पनि केही महत्वपूर्ण काम हुने बताउनुभयो ।