फाइल तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ।
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित हुनुभएको छ । इजरायलको हापोएल रानानासँग अनुबन्धित सावित्रा फुटबलको व्यावसायिक जीवनमा युरोपबाट प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको हो ।

राष्ट्रिय टिमकी स्ट्राइकर सावित्राले आज मङ्गलबार आगामी सिजनका लागि हापोएल रानानासँग सम्झौता गर्नुभएको हो । उक्त क्लबले मङ्गलबार नै सामाजिक सञ्जालमार्फत् सावित्रालाई अनुबन्ध गरेको खुलासा गरेको छ । सावित्राले पनि आफू इजरायली क्बलमा अनुबन्धन भएको जानकारी गराउनुभएको छ ।

‘युरोपमा फुटबल खेल्ने मेरो सपना इजरायली क्लबबाट पूरा गर्ने अवसर पाएको छु । क्लबमा अनुबन्धन भएसँगै थप उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको छ।’ आफ्नो करिअरको यो अध्याय पनि सफल हुने सावित्राको विश्वास छ ।

उक्त क्लबले सावित्रालाई नजिकबाट नियालेको भन्दै अन्ततः उनलाई क्लबमा औपचारिक रुपमा अनुबन्धन गरेको जनाएको छ । क्लबले भनेको छ, ‘लामो समयदेखि सावित्रालाई नजिकबाट हेरेका थियौँ। अन्ततः क्लबमा अनुबन्धन गरेका छौं ।’

यसअघि सावित्राले भारतीय शीर्ष डिभिजन लिगमा सनसनीपूर्ण प्रदर्शन गरेर उधुम मञ्चाउनुभएको थियो । सावित्राले हालैमात्र भारतीय शीर्ष डिभिजन लिगको १० खेलमा २९ गोल गर्दै गोकुलम केरलालाई लगातार उपाधि दिलाउन सफल बन्नुभएको थियो । नेपालको घरेलु फुटबलमा एकछत्र राज गर्नुभएकी सावित्राले पहिलो पटक युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्न लाग्नुभएको हो ।