फाइल तस्वीर
नेपालमा पछिल्लो समय जनवायु परिवर्तनको प्रभावस्वरुप अत्यधिक गर्मी महशुस गर्न थालिएको छ । अनपेक्षित रुपमा मौसममा भएको परिवर्तन जलवायु परिवर्तनको प्रभाव हो ।

पानी पर्ने चक्रीय प्रणालीमा फेरबदल र तापक्रम वृद्धिभएको महशुस गर्न थालिएको छ । काठमाडौं उपत्यका र तराईका क्षेत्रमा दुईसाता अघिदेखि उखरमाउलो गर्मी हुनुको कारण जलवायु परिवर्तनको प्रभाव हो भन्ने मौसमविद्हरुको भनाई छ । यसपटक काठमाडौं उपत्यकामा सन् २०१२ जुन १३ तारिखका दिन ३५ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । काठमाडौं यसपटक पनि झण्डैै सोही हाराहारीमा तापक्रम पुग्ने अनुमान जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

यस वर्ष मुलुकका सबै क्षेत्रको तापक्रम औषतभन्दा ३ देखि ५ डिग्री सेल्सियससम्म बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । देशैभर अत्यधिक गर्मी महशुस गरिएको छ । तराईका कतिपय क्षेत्रमा ४४ डिग्री सेल्सियस तापक्रम भएको र अत्यधिक गर्मी बढेको छ ।

आधुनिकीकरण र तिब्र विकासको चाहनाले प्रकृतिलाई नै विनासतर्फ धकेलिंदै छ । तीब्र आर्थिक विकासको चाहनालाई परिपूर्ति गर्ने महत्वाकाङ्क्षाका कारण प्राकृतिक स्रोतहरुको दोहन भैरहेका छन् । त्यसैगरी विश्व शस्त्र अस्त्रको होडवाजीले आणविक भट्टीको विकास, औद्योगिकीकरण, सवारी साधनहरुले फाल्ने धुवाँ, वनमा लाग्ने भिषण डँढेलो, बढ्दो जनसङ्ख्याजस्ता कारणहरुले वायुमण्डलमा कार्बनडाइ अक्साइडलगायत अन्य हरितगृह ग्याँसको मात्रा निरन्तर बढिरहेको छ । यी सबै मानव सभ्यताको विकासक्रमको गतिले आज विश्वलाई नै जलवायु परिवर्तनको चपेटातिर धकेलिरहेको छ । आज जलवायु परिवर्तको समस्या विश्वव्यापी टाउको दुखाई बनेको छ ।

जलवायु परिवर्तनका कारण विश्व नै तापक्रम वृद्धिको चपेटामा परेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । जबकी हरित ग्याँस उत्सर्जन नेपालको भूमिका ज्यादै न्यून छ । तर पनि नेपाल जलवायु परिवर्तनको चपेटामा परेको चौंथो मुलुक बनेको छ ।

जलवायु परिवर्र्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । यद्यपि, जलवायुमा परिवर्तन ल्याउने हरितगृह ग्याँसहरु मुख्य गरी कार्बनडाइअक्साइड, मिथेन, नाइट्रोसअक्साइड, हाइड्रोफ्लोरो कार्वन, परफ्लोरो कार्वन, सल्फर हेक्जा फ्लोराइड हुन् । यी कुरालाई क्योटो अभिसन्धी सन् १९९२ मा सूचिकृत गरिएको छ । जलवायु परिर्वतनको मूख्य कारक भनेको आणविक भट्टी, औद्योगिकीकरण, वन जङ्गल लाग्ने डँढेलो एयरकुलर, रेफ्रिजेटर, बढ्दो सवारी साधनबाट निस्कने धुवाँहरु, ठूला कृषि फर्मका टनेल आदि हरितृह ग्याँस उत्पादन गर्ने प्रमुख क्षेत्रहरु हुन् ।

त्यसैगरी कोइला, पेट्रोलियम पदार्थ र ग्याँस जस्ता जीवाष्मा ईन्धनहरु जलाउँदा हरितगृह ग्याँस उत्सर्जन हुन्छ जुन पृथ्वीको वरिपरि ओजन तहले बेरिएको हुन्छ । यसले सूर्यको तापलाई बाहिर निस्कन दिंदैन र तापक्रम बढाउँछ । यसरी बढ्ने तापक्रमले पृथ्वीको वातावरण तथा मौसममा असर गर्न जान्छ र हिमालका हिँउ पग्लिने अनि समुद्रको पानी बढ्ने गर्दछ । नेपालको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन प्रभाव परेको सहजै देख्न सकिन्छ । तापक्रम वृद्धिले हिमालमा हिउँगलनको प्रभावको क्रम बढ्दो छ । विश्वव्यापीरुपमा बढेको जलवायु परिवर्तनको असरका लागि विकसित र शक्तिशाली राष्ट्रहरु जिम्मेवार छन् ।

आज जलवायु परिवर्तन र मानव स्वास्थ्य आज एक अर्काका प्रतिद्वन्द्वी विषय बनेको छ । जलवायु परिवर्तनले मानव स्वास्थ्यलाई मात्र नभै खाद्यान्न उत्पादनमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ । नयाँ खालको रोगहरु देखिएका छन् । विश्वव्यापी रुपमा खाद्य सङ्कट बढ्दै गएको छ । जलवायु परिवर्तनले आज हरक्षेत्रमा प्रतिकुल प्रभाव पर्दैगएको छ । जलवाय परिवर्तनको विषय सर्वव्यापी चिन्ता र चासोको विषय बनेको छ ।

जलवायु परिवर्तनले वायुमण्डल असन्तुलित बन्न पुगेको छ । पृथ्वीको तापक्रम र हावापानीमा आएको परिवर्तनको सिधा प्रभाव मानव स्वास्थ्य र वातावरणमा परेको छ । काठमाडौंलगायत देशका शहरी क्षेत्रमा हुने गरेका खण्डवृष्टि र मुसलधारे पानी पर्दा ढलहरुबाट पानी बाहिर निस्कने र त्यसबाट वातावरणीय क्षेत्रमा समेत प्रतिकुल प्रभाव पर्न जानेहुँदा विभिन्न रोगको सङ्क्रमण फैलनसक्ने खतरा पनि त्यति नै छ ।

जलवायु परिवर्तनसँग जुध्ने तयारी नहुँदा जनजीवनले नै भविष्यमा भयावह दुष्परिणम भोग्नुपर्ने सङ्केत देखा पर्दैछन् । हरितगृह ग्याँसको अधिक उत्सर्जनका कारण सय वर्षको अवधिमा पृथ्वीको तापक्रम ०.७ डिग्री सेन्टिग्रेटका दरले बढ्दै गएको छ । अहिले भइरहेको कार्बन उत्सर्जन नघटाउने हो भने भावी पुस्ताले जलवायु तथा वातावरण परिवर्तनको कारणले विकराल रुपमा नकरात्मक असरहरु भोग्नुपर्ने अवस्था निम्तिदैछ । त्यति मात्र होइन, कार्बन उत्सर्जनलाई नघटाए हिमालय क्षेत्रबाट करिब दुईतिहाइ हिँउ नै रित्तिन सक्छ । जलवायु परिवर्तनको कारणले केही वर्षयता हिमाली जिल्लामा समेत लामखुट्टे उक्लिन थालेका छन् । हिउँद सुक्खा र चिसो तथा ग्रीष्म बढी उष्ण बनिरहेका छन् । वातावरणमा आइरहेको यस्तो बदलावसँग जुध्ने तयारी भने अहिलेसम्म भेटिएको छैन ।

आज विश्व यिनै कुराको चपेटामा परेको छ । सबै जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न कार्वन डाईअक्साइड जस्ता ग्याँसहरुलाई कम गर्दैको विकल्प छैन । वायु प्रदुषण र हरितगृह ग्याँसको उत्सर्जन कम गर्न जीवाश्म ईन्धन जलाउनु भन्दा कम कार्बन स्रोतह्रुबाट बिजुली उत्पादन गर्न जोड दिनु आवश्यक छ । कोइला र पेट्रोलियम पदार्थबाट चल्ने साधनहरु र आणविक ऊर्जाको प्रयोग घटाएर पानीबाट उत्पादित बिजुली वा सोलारबाट चल्ने साधनहरु प्रयोग गरेमा हरितगृह ग्याँस उत्सर्जनलाई न्यूनीकरण गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता छ । जलवायु परिवर्तनको प्रभावलाई कम गर्न अक्सिजनको मात्रा बढी दिने चिलौने, पिपल जस्ता रुखबिरुवाहरुको संरक्षण र वृक्षारोपणमा ध्यान दिनसके पनि नेपालले केहीमात्रामा राहत पाउन सक्थ्यो कि !