तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत ।
काठमाडौं — अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउने दावी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले आ.व. २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठाउनु भएको प्रश्नको जवाफ दिने क्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको उल्लेख गर्नुभएको हो ।

सोहीक्रममा अर्थमन्त्री महतले करको दर धराना केन्द्रीत नभएको जिकिर गर्नुभएको छ । करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको भन्नुहुँदै ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित छ’ भन्नुभयो ।

नेपालमा भ्याट सङ्कुचन हुँदै गएको स्मरण गर्दै भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताउनुभयो । दैनिक उपभोग्य वस्तुमा कर किन लगाएको हो, त्यसलाई खारेज गर्न माग गर्नुहुने सांसदप्रति लक्षित गर्दै यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको जवाफ दिनुभयो । एकातर्फ आलु÷तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको भन्नुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै अर्थमन्त्री महतले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत पुग्ने दावीसमेत गर्नुभयो ।