तस्वीरः आपतकालीन कामदारहरू घटनास्थलमा
सिड्नी — अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको छ । विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको हो ।

प्राप्त समाचारमा जनाइए अनुसार सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आईतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको समाचारमा जनाइएको छ ।

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरुले त्यहाँबाट घाइते भएकाहरुको उद्दार गरी २० जनाभन्दा बढी मानिसहरूलाई अस्पताल पु¥याएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

घाइते भई अस्पताल लगिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्वीरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उहाँलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताउनुभएको छ ।

“चालकले अनुसन्धानमा सहयोग गरिरहेका छन् र यो चरणमा चालकविरुद्ध कुनै आरोप लगाइएको छैन” सहायक आयुक्त च्यापम्यानले भन्नुभयो । “हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं ।

सहायक आयुक्त च्यापम्यानलका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए । उक्त बस कुनै पनि सवारी साधनसँग ठोकिएको नभई सन्तुलन गुमाएका कारण दुर्घटना भएको समाचारमा जनाइएको छ ।