तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।
काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिम आज सोमबार फिलिपिन्स जाँदै छ । नेपाली टिम बिहीबार मैत्रीपूर्ण फुटबल खेल खेल्न फिलिपिन्स जान लागेको हो ।

भारतको बेङ्ग्लोरमा हुने साफ च्याम्पियनसिप २०२३ को तयारी लागि नेपालले फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । यो सकेर नेपाल सिधै साफ च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्नेछ ।

नेपाल ‘ग्रुप अफ डेथमा’ परेको छ । त्यसमाथि नेपाले यस प्रतियोगिता खेल्नको लागि राम्रो प्रशिक्षण समेत गर्न पाएको छैन । सहिद स्मारक ‘ए’ डिभिजनको खेलका कारण राष्ट्रिय टिमका खेलाडीहरु क्लब मै सिमित हुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको हो । खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर सिकाउन नेपाली राष्ट्रिय टिमका मुख्यप्रशिक्षक अल्बर्टो भिन्सेन्जोले मौका नै पाएनन् ।

सन् २०२१ मा सार्क सदस्य राष्ट्र माल्दिभ्सको राजधानी मालेमा सम्पन्न पछिल्लो साफ च्याम्पियनसिपमा नेपालले फाइलन पुगेर ऐतिहासिक प्रदर्शन गरेको थियो । नेपाल दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा फाइनल पुगेको त्यो नै पहिलो स्वर्णीम अवसर थियो । यस पटक त्यो प्रदर्शन पुनरावृत्ति गर्न नेपाली टिमलाई त्यति सजिलो देखिंदैन ।

साफ च्याम्पियनसिपमा यस पटक लेवनान र कुवेत गरी दुई पाहुना टिमले प्रवेश गरेका छन् । बेङ्ग्लोरमा हुने साफ च्याम्पियनसिपमा नेपालले असार ६ गते कुवेतसँग, ९ गते डिफेन्डिङ च्याम्पियन भारतसँग र असार १२ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । कुवेत र भारत नेपालभन्दा बलिया टिम हुन् । भारतले फुटबल खेलमा पछिल्लो समय आफुलाई धेरै सुधार गरिसकेको छ । नेपालको स्तरभने खस्कँदो छ । नेपाली राष्ट्रिय टिमका खेलाडीहरु देशमा भविष्य नदेखेर विदेश पलायन भएका छन् । त्यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय टिममा परेको छ । यता पाकिस्तान पनि बलियो टिममा दर्ज भएको छ ।

नेपाललाई आफ्नो समूहबाट अर्को चरणमा प्रवेश गर्न त्यति सजिलो देखिंदैन । यद्यपि, खेल हो, राम्रा भनिएका टिमहरु पनि पराजय भोगेका हुन्छन् । नेपालले मुख्यतया डिफेन्स र फरवार्डमा ध्यान दिनुपर्ने हुन्छ । यस पटकको साफ च्याम्पियनसिप माथिल्लो स्तरको प्रतिस्पर्धा हुने भएकाले पनि नेपालले आफुलाई हतासको मनस्थितिमा खेल्नुभन्दा सम्हालिएर टिम भावनामा खेल्नु नै श्रेयकर छ ।