तस्वीरः कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि विजेता नोभाक जोकोभिच ।
सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि जितेका छन् । यो जितसँगै तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ३६ वर्षीय जोकोभिच सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् । सर्बियाका खेलाडी जोकोभिचले कम्तिमा तीन पटक सबै चार प्रमुख ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएका छन् ।

यसअघि स्पेनका राफेल नाडाल र जोकोभिचले समान २२ ग्रान्डस्लाम जितेका थिए । फ्रेन्च ओपनसँगै उनी सर्वाधिक ग्राण्डस्लाम जित्ने पुरुष खेलाडी समेत बनेका छन् । फ्रेन्च ओपनको आईतबार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई हराउँदै आफ्नो नाममा कीर्तिमान थपेका छन् । नेपाली समयअनुसार आज रातिभएको खेलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ७–६ (७–१), ६–३, ७–५ को सेटमा हराउँदै सहज जित हात पारेका हुन् ।

ग्राण्डस्लाममा कीर्तिमानी सङख्या २३ पुर्याउँदा उनले १० पटक अष्ट्रेलियन ओपन जितेका थिए भने विम्बल्डनमा सात पटक बाजि मारेका थिए । जोकोभिचले युएस ओपन तीन पटक र तीन फ्रेन्च ओपन जित्र्द कीर्तिमानी सङ्ख्या २३ पुरयाएका हुन् ।

स्पेनिस स्टार राफेल नाडालले जोकोभिचलाई कीर्तिमान बनाएकोमा बधाई दिंदै असम्भव मानिएको काम पूरा गरेको भनेका छन् । नाडालले बधाई दिंदै भने ‘२३ यस्तो सङ्ख्या हो कि केही वर्षअघिसम्म सोच्न पनि असम्भव देखिन्थ्यो, तर तिमीले त्यो पूरा गरेकोमा बधाई दिन चाहन्छु।’

‘यो आश्चर्यजनक खुसी बडन गर्ने शब्द नै छैन । अत्यन्त उत्साही छु’ ग्रान्डस्लाम जितेपछि जोकोभिचले भने । उनले आफैलाई महान खेलाडी भन्न नसक्ने भन्दै‘म यस छलफलमा प्रवेश गर्न चाहन्नँ, म आफ्नै इतिहास लेख्दैछु’ भनेर टिप्पणी गरेका छन् । ‘आफूले आफैलाई सर्वकालीन महान हुँ भन्न चाहन्न ।’