ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल सात वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् । हिउँदको समयमा गाउँमै गाडी पुगे पनि बर्खामा भने उत्पादन गरेका तरकारी बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको यहाँका किसान बताउँछन् ।

पश्चिम बागलुङमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गाउँ हो, अधिकारीचौर । हरेक वर्ष यहाँका कृषकले तरकारी बेचेरै रू ५० लाख  गाउँमा भित्र्याउँदै आएका छन् । “हिउँदको समयमा गाउँमै गाडी पुग्ने हुँदा सहजै तरकारी बजार पु¥याउन सकिने भन्दै बर्खामा भारिया लगाएर बजार पु¥याउनुपर्ने बाध्यता छ”, स्थानीय कृष्णलाल कँडेलले भन्नुभयो । उहाँका अनुसार मोटरेबल पुल समयमै निर्माण नहुँदा कृषकले बर्खाको समयमा  उत्पादन भएका सबै तरकारी बेच्नबाट वञ्चित हुने गरेका छन् ।

भुजीखोलामा पुल बन्न थालेको सात वर्ष भएको छ । हालसम्म ४० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुलको दुईतिर पिल्लर उठाउने काम मात्र भएको छ ।

सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी वाइटी रफिना जेबी कन्स्ट्रक्सनले विसं २०७३ असोज ४ मा सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेको थियो । पटकपटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरिरहेपछि केही महिना अगाडि मात्रै ठेक्का तोडिएको कार्यालयका इञ्जिनियर नवीन खरालले जानकारी दिनुभयो । उहाँका अनुसार म्याद थप गर्दा पनि हालसम्म पुल निर्माण सम्पन्न नभएपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । 

“सडक डिभिजन कार्यालयले पटकपटक ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशनपछि निर्माण कम्पनीले काम गर्छौँ भनेर आउने तर काम भने नगरिदिँदा यतिका समयसम्म पुल निर्माण हुन नसकेको हो । अहिले निर्माण कम्पनीलाई कालोसूचीमा राखी ठेकेदारबाट बैंक जमानत असुलउपर गर्न लागेका छौँ”, इञ्जिनियर खरालले भन्नुभयो । उक्त ठेकेदारले अहिलेसम्म गरेको कामको मूल्याङ्कन गर्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ । 

“निर्माण कम्पनीले विसं २०७४ माघ १० गते पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्धारित समयसम्म काम सम्पन्न नभएपछि पटकपटक गरेर विसं २०७८ वैशाख २७ मा काम सक्ने गरी म्याद थप गरिएको थियो । कामै नभएपछि अहिले ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाएका छौँ”, इञ्जिनियर खरालले भन्नुभयो, “हालसम्म बनेका संरचना केकस्ता छन्, त्यसको मूल्याङ्कन गरेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ ।”

निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग रू तीन करोड ५० लाखमा निर्माण सम्झौता गरेको थियो । उहाँका अनुसार पुलको दुवैतिर निर्माण गरेको पर्खाल भुजीखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ । 

निर्माण सुरु भएको सात वर्षसम्म पनि पुल आधा पनि नबन्दा स्थानीय आक्रोसित भएका छन् । भुजीखोलामाथि निर्माण थालिएको उक्त पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । 

स्थानीय कँडेलले हिउँदको समयमा गाडी वारपार गर्नसक्ने हुँदा यात्रा गर्न र तरकारी ओसारपसारमा सहज भए पनि खर्बामा बढी सास्ती खेप्नु परेको गुनासो पोख्नुभयो । गाउँका अधिकांशले तरकारी उत्पादन गरेपनि बर्खामा उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा ठूलो क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो । सरोकारवाला निकायलाई बारम्बार पुल निर्माण गर्न आग्रह गरे पनि सुनुवाइ नभएको कँडेलको भनाइ छ । उहाँका अनुसार ठेकेदारले लामो समयदेखि काम नगर्दा निर्माण भएका संरचना पनि बेवारिसे बनेका छन् ।

“माथि गाउँका बारीभरि तरकारी फलेका छन्, हिउँदमा उत्पादन भएका सबै बजारमा लगेर बेचियो, अब फेरि बारीमा तरकारी तयार भएका छन्, बर्खा लाग्न थाल्यो, खोला बढ्छ, गाउँमा गाडी आउँदैनन्, बोकेर बजार पु¥याउन सकिँदैन”, कँडेलले भन्नुभयो, “अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेँडा, बन्दालगायत तरकारी बारीमा कुहिएर नष्ट हुन्छन्, पुल बन्न थालेको १० वर्ष हुन थाल्यो अहिलेसम्म दुईतिर पिल्लर मात्रै उठाएको छ, अरु कामै गरेको छैन, हामी यो पुल नबन्दा निकै समस्यामा परेका छौँ ।”

बर्खाको करिब चार महिना गाडी ठप्प हुँदा स्थानीय मार्कामा पर्ने गरेको स्थानीय शिवराज कँडेलले बताउनुभयो । मोटरबाटोले गाउँ नजोडिँदा हिउँदका समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरिया लगाएर बुर्तिबाङ बजारसम्म पु¥याउँदा कृषकले घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । 

हिउँदमा तरकारी लिन व्यापारी बारीमै पुग्ने गरे पनि बर्खामा वैकल्पिक सडक तथा पुल नहुँदा समस्या हुने गरेको कँडेलले बताउनुभयो । उहाँका अनुसार पुल नबन्दा स्थानीयले दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य छन् ।

“गाउँभन्दा पारी मोटरबाटो भए पनि बर्खाको समयमा वारी गाउँबाट पारीसम्म तरकारी बोकेर पु¥याउन सास्ती भएको छ । तरकारी बोकेर मोटरबाटोमा पुग्दा धेरै समय लाग्छ, पुल बन्थ्यो भने वारीबाट पारी सडकमा पुग्न दुई मिनेट पनि लाग्ने थिएन् । अहिले एक घन्टा लगाएर पारी तर्ने गर्छौँ, बजारबाट सामान लिन प¥यो भने दिनैभरि लाग्छ”, कँडेलले भन्नुभयो । उहाँले गाउँमा बिरामी पर्दा अस्पताल लैजान पनि पुलका कारण सास्ती हुने गरेको बताउनुभयो ।

दुई वर्ष अघि नै पुलको ४० प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ । दुई वर्षको अवधिमा भुजीखोलामा आएको बाढीले पुलको ग्याविन, पर्खाल बगाएको छ भने पुलका अन्य संचरना पनि जीर्ण बनेका छन् ।