स्टकहोम – स्वीडेनको राजधानी स्टकहोममा गोलावारी हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका हुन् ।

प्रहरी अधिकारीका अनुसार घाइते किशोरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यलाई अस्पतालमा भर्ना गरिएको छ । स्टकहोम प्रहरीका प्रवक्ता टोभ हागले मिडियालाई दिएको जानकारी अनुसार घटनास्थलमा मृत्यु भएका किशोर १५ वर्षका थिए ।

गोली लागेर अन्य १५ वर्षीय बालक र ४५ देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । गोली चलाएको एक घण्टाभित्रै स्टकहोमको दक्षिणतिर कारको पछि लागेर दुई जना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले एक विज्ञप्तिमा बताएको छ । उनीहरूलाई प्रहरीले हत्या र ज्यान मार्ने उद्योगको अनुसन्धान थालेको छ ।