प्रतिकात्मक तस्वीर
मान्म — कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाए अनुसार जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।