तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।
काठमाडौं — दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले तीन जना नयाँ खेलाडीलाई समेट्दै साफ च्याम्पियनसिपको लागि राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

आसन्न १४ औं संस्करणका लागि साफ च्याम्पियनसिप खेल्न २३ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । किरण चेम्जोङको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरिएको हो । प्रतियोगिता सुरु हुनु दुई साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।

साफ तयारीका लागि प्रशिक्षक एनेसले यसअघि ३० जना खेलाडीको छनोट गरेको थिए । छनोट गरिएका ३० खेलाडी मध्येबाट २३ जना छानिदा विमल पाण्डे, सीमान्ता थापा र लाकेन लिम्बुले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

आगामी ६ असारदेखि भारतको बैंगलोरमा साफ च्याम्पियनसिप हुँदैछ । नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनमा रहँदा बलिया विपक्षीसँग खेल्नुपर्ने नेपाल टिमले विशेष र एकीकृत तयारी गर्ने अवसर जुरेको छ ।

नेपाली टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाली टिम त्यहीबाट सिधै भारतको बैंगलोर प्रस्थान गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले असार ६ गते कुवेतसँग, असार ९ गते आयोजक टिम भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ । यसपटक साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह ‘बी’मा लेवनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

साफ च्याम्पियनसिका लागि नेपाली टिमको गोलपोष्ट संहाल्ने जिम्मा किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठले पाएका छन् भने विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापालाई डिफेण्डरको भूमिका लागि तयार गरिएको छ ।

यसैगरी मिडफिल्डरमा पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने भने नेपाली टिमको फरवार्डको जिम्मेजारी आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगरको काँधमा परेको छ ।