कालिकोट — कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार रास्कोट नगरपालिका–२स्थित सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक हुन गई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मोनबहादुर शाही र सोही ठाँउकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रीता शाही गम्भीर घाइते भएकी छन् । गर्भवती रहेकी गम्भीर घाइते उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रण लिइएको छ ।