तस्वीरः खनिएका सडक ।
काठमाडौं – सरकारले आगामी असार १ गतेदेखि जथाभावी सडक खन्न नपाउनेगरी प्रतिबन्ध लगाएको छ । सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनैपनि सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल सडकहरु मर्मत सम्भार गर्न नसकिने र खाल्डा भएका सडकमा पानी जम्न जाँदा सडक झन विग्रने भएकाले तीन महिना सडक खन्न निषेध गरेको सडक विभागले जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै आगामी असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने जनाएको छ ।

यदि कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ । यो सडक खन्ने कार्यलाई निरुत्साहित गर्न आम नागरिक र सम्बन्धित सबैको सहयोगको अपेक्षा पनि गरेको विभागले जनाएको छ ।