मनाङ — मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । तर, हिमाली जिल्ला मनाङ यिनै बालीमा नै आत्मनिर्भर छ ।

कतिपय स्थानमा रैथाने बाली लोप हुने भइसकेको छ । रैथाने बालीको प्रयोग कम गरी हाइब्रिड बाली लगाउने प्रचलन बढ्दो छ । कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल विकासे (हाइब्रिड) खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ । उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन् ।

चामे गाउँपालिका–२ थानचोकका किसान निर्मला गुरुङले मनाङमा आलु, गहुँ, फापर, करु, उवा लगायतका रैथाने बाली गर्दै आएको बताउनुहुन्छ । “मनाङमा पुर्खौंदेखि गरिदै आएको खेती नै हाल पनि गरिरहेका छौँ, यहाँको वातावरणमा यही बालीको उत्पादन राम्रो हुन्छ, यसको संरक्षण हुनुपर्छ, कृषि कर्मलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आवश्यक रहेको छ”, गुरुङले भन्नुभयो ।

त्यस्तै चामे–५ चामेका कृषक सेरव विष्टले गहुँ, फापर, करु, आलु, जौ, उवाजस्ता रैथाने बाली गर्न ज्ञान केन्द्रले प्रोत्साहन गरेको बताउनुभयो । “यी खेतीबाट उत्पादित खाद्यवस्तुको प्रवद्र्धन तथा संरक्षणका लागि तालिम प्रदान गरिएको छ, यसले बाली संरक्षणमा टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्र भएकाले मनाङमा यहीको उत्पादनलाई प्राथमिकता दिएर विभिन्न परिकार बनाउन ज्ञान केन्द्रले तालिम प्रदान गर्ने कार्य गरिरहेको छ । यसले विदेशी पर्यटकलाई यहाँका उत्पादनलाई उपयोग गरी खानाको स्वादमा परिवर्तन र आकर्षित गर्नमा भूमिका खेलेको पाइन्छ ।

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ तलेखुका किसान फुलमाया गुरुङले यहाँका रैथाने बालीबाट उत्पादित वस्तुको विभिन्न परिकार बनाउने गरेको बताउनुभयो । मकै, करु, आलु, कोलो, गहुँ, जौजस्ता खाद्यवस्तु उत्पादन गरिने उहाँले बताउनुभयो । यही खाद्यवस्तुको उपयोगबाट होटल व्यावसायमार्फत आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।  

गुरुङले भन्नुभयो, “ज्ञान केन्द्रमार्फत यहाँ उत्पादित खाद्यवस्तुबाट केक, प्यान केकलगायतका खानेकुरा बनाउने सीप सिकेर उपयोग गरिरहेका छौँ, यसले होटल व्यवसायमा सहयोग पुगेको छ, आम्दानी पनि सहयोग पुगेको छ ।” रैथाने बालीको संरक्षणमा यसरी सहयोग पु¥याउने भए यस्ता बालीमा आत्मनिर्भरमा टेवा पुग्नेछ ।