एजेन्सी— युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध फुटेको छ । रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध बमबारीका कारण भत्किएको हो ।

उक्त बाँध फुट्दा ८० हजार मानिस विस्थापित भएका छन् भने अन्य १६ हजार मानिस उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । युक्रेनको उत्तरी भागबाट दक्षिणी क्षेत्रमा फैलिएको ३.२ किलोमिटर लामो र ठूलो बाँध हो । यसले ठूलो विनाश हुने अनुमान गरिएको छ । बाँधको ठूलो हिस्सा भाँचिएर खेरसोनको ठूलो क्षेत्र डुबानमा परेको छ ।

सो बाँध फुट्दा धेरै गाउँहरूमा बाढी पसी पानीमा डुबेका छन् । मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । युक्रेनी अधिकारीहरूले रुसले बाँध भत्काएको आरोप लगाएका छन्, तर रुसले भने यस घटनामा युक्रेन स्वयं जिम्मेवार भएको जवाफ दिएको छ । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हमलाको दोष रुसलाई दिँदै यो आक्रमण युद्ध अपराध जत्तिकै गम्भीर भएको बताएका छन् ।

खेरसनका अधिकारीहरूले मानिसहरूलाई तल्लो क्षेत्र छोडेर तुरुन्तै उच्च क्षेत्रमा जान चेतावनी दिएका छन् । रुसले बम हानेर बाँध भत्काएको आरोप स्विकार नगरे पनि धेरै विज्ञहरू युक्रेनको दाबी उपयुक्त ठान्छन् । किनभने उक्त बाँध माथिको बाटो भएर युक्रेनी सेना आफूले कब्जा गरेको क्षेत्रमा पुग्न सक्ने डर रुसलाई थियो । तर रुसको दाबी भने उक्त क्षेत्रमा युक्रेनले नै बम हानेको छ । यद्यपि, बम कसले हान्यो भन्ने अझै नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।