तस्वीरः काठमाडौं जिल्ला अदालत ।
काठमाडौं — नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका अभियुक्तको जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको आज मङ्गलबार बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । सूचना अधिकारी दाहालले भन्नुभयो, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नुहुन्छ ।’

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गर्नुभएको थियो ।

नक्कली भूटानी शरणार्थी प्रकरणका ठूलो माछा भनिएका पक्राउ परेका अभियुक्र एमालेका सांसद् एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित, सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा छिटै निर्णय लिइने भएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दावीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो ।