तस्वीरः मुख्यमन्त्री हिक्मतबहादुर कार्की ।
विराटनगर — कोशी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बर्हिगमन भएको छ । नेकपा एमालेलाई दिएको समर्थन फिर्तालिंदै माओवादी केन्द्र आज सरकारबाट फिर्ता भएको हो ।

माओवादी केन्द्रले आफ्नै नेतृत्वमा कोशी प्रदेशको सरकार गठन गर्न मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय समेत गरेको छ । यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पाटी र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की गत पुस २४ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

जनता समाजवादी पार्टी यस अघि नै समर्थन र्फिता लिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

कुल ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० जना, नेपाली काङ्ग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राप्रपाका ६ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र जसपाका १ जना सांसद छन् । कोशी प्रदेशमा सरकार गठनका लागि कम्तिमा पनि ४७ जना सांसद्को समर्थन आवश्यक पर्दछ ।