तस्वीरः सर्वोच्च अदातल ।
काठमाडौं — रौटहटको गौरमा सोह्र वर्ष अघि भएको नरसंहारसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । डेढ दशक वित्न लाग्दापनि आफुहरुले न्याय नपाएको भन्दै त्रिभुवन साहले नरसंहारका दोषीमाथि छानविन गरी कानुनी कारवाही गर्न माग गर्दै हिजो सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उक्त हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानविन गरी दोषीमाथि कारवाही गर्न मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले आईतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दाको पेसी आज सोमबारका लागि तोकिएको हो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलको चौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीको आमसभा गर्नका लागि एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा उत्पन्न भएको विवादले हिंसात्मक रुप धारण गरेपछि हतियारधारी फोरमका कार्यकर्ताको जत्थाबाट २७ जना माओवादी कार्यकर्ताको नृमम किसिमले हत्या भएको थियो । उक्त हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दावी गरिंदै आएको छ ।

माओवादीको कार्यक्रम सुरुहुँदै गर्दा फोरम सम्बद्ध नेता तथा कार्यकर्ताले दिउँसो करिव २ बजे मञ्जमै पुगेर साङ्घातिक आक्रमण गरेका थिए । उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै पुगेको राष्ट्रिय मानव अधिकार आयोग, पत्रकार महासङ्घ लगायतको टोलीको स्थलगत अनुगमनले हत्या क्रूर र अमानवीय रहेको तथा लखेटालखेटी नियन्त्रणमा लिई बलात्कार समेत गरी हत्या गरिएको प्रतिवेदन दिएको थियो । यद्यपि सरकारले भने गौर हत्याकाण्डलाई राजनीतिक घटना भन्दै घटनाका आरोपितलाई उन्मुक्ति दिंदै आएको छ ।

न्यायाधीश रेग्मीको इजलासमा परेको उक्त मुद्दा पेसी सूचीको अन्तिममा परेको छ । उक्त मुद्दाको सुनुवाइ आज हुने कम सम्भावना रहेको छ ।