साङ्केतिक तस्वीर
पाल्पा —पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आईतबार साँझ सो स्थानामा दुर्घटना भएको हो ।

जीपमा यात्रा गर्नेमध्ये मृत्यु भएका सबैजना को पहिचान खुलेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ११ जना घाइते भएको प्रहरीको भनाइ छ । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।