फाइल तस्वीरः अफगानिस्तानको शरणार्थी
काबुल — अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत् छिमेकी देश इरानबाट कुल दुई हजार एक सय छ जना अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ ।

“इरानमा शरणार्थीका रूपमा वषौंसम्म बसेका दुई हजार एक सय छ जना अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,“ विज्ञप्तिमा भनिएको छ ।

यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब दुई हजार आठ सय अफगान शरणार्थी स्वदेश फिर्ता भएको जानकारी दिएको थियो । गत जनवरीदेखि अहिलेसम्म इरानबाट झण्डै ६० हजार अफगान शरणार्थी स्वदेश फर्किएका छन् ।

इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा पाकिस्तानमा पनि अफगान शरणार्थी बसिरहेको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।