तस्वीरः तापक्रम मापन ।
काठमाडौं — देशमा अहिले पश्चिमी बायु र स्थानीय वायुको प्रभाव नरहेका कारण तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकै जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर केहीदिन गर्मी बढ्ने छ । देशभर नै उखरमाउलो गर्मी बढेको छ ।

तापक्रम बढ्ने क्रम अझै केही दिन जारी रहने महाशाखाले जनाएको छ । काठमाडौंमा विगतका वर्षहरूमा जुन महिनामा सरदर तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस मात्र हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ । केही दिनयता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम बढिरहेको छ । यो अझै बढ्ने क्रममै रहेको मौसमविद्हरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको तापक्रम बढेर ३४ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको महाशाखाको भनाई छ । सन् २०१२ जुन १३ मा अहिलेसम्मकै उच्च ३५ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यसवर्ष पनि काठमाडौंमा सोही हाराहारीको तापक्रम पुग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यसवर्ष देशको सबै क्षेत्रको तापक्रम सरदरभन्दा ३ देखि ५ डिग्री सेल्सियस बढ्ने सम्भावना रहेको जल तथा मौसम विभागले आङ्कलन गरेको छ ।