फाइल तस्वीर: सुक्खा बन्दरगाह
बेदकोट — कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सहमति भएको पछि त्यहाँका जनतामा खुसी छाएको हो ।

लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारत सहमत भएपछि अब निर्माणको काम अघि बढ्ने भन्दै स्थानीय आशावादी बनेका छन् । “लामो समयदेखि सुक्खा बन्दरगाह चर्चामा मात्रै आइरहेको छ, अहिलेसम्म यसको केही काम अगाडि बढेको छैन”, दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय टीकाराम चन्दले भन्नुभयो, “नेपाल र भारतबीच निर्माणको सम्झौता भएपछि अब निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ ।”

सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले तीन वर्षभित्र बनाउनेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गर्नुभएको थियो । बन्दरगाह निर्माणका लागि विसं २०६४ मै प्रस्ताव गरिएको थियो । प्रस्ताव भएको झन्डै १० वर्षपछि सरकारले निर्माण प्रक्रिया सुरु गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण गरिने उल्लेख छ । भारतसँग सुक्खा बन्दरगाहका लागि सम्झौता एवं नीति तथा कार्यक्रममा समेटिएपछि यहाँका स्थानीयका साथै निजी क्षेत्रका व्यवसायी खुसी भएका छन् । सम्झौता अनुरुप समयावधिमै काम सम्पन्न गर्ने गरी निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने उहाँहरुको भनाइ छ ।

“वर्षांैदेखि सुक्खा बन्दरगाह निर्माणमा सरकारले चासो देखाएको थिएन, यसपटक भारतसँग निर्माण सम्झौता हुनु खुसीको कुरा हो”, उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले भन्नुभयो, “निर्णय कार्यान्वयनमा जोड दिनुपर्छ ।” सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले दोधारा चाँदनीका मायापुरी र गौरीशङ्कर सामुदायिक वनको दुई सय ८० बिघा जमिन छनोट गरेको छ । यी दुई वनले वडा नं १, २ र ३ को भूभाग समेट्छन् ।

बन्दरगाह निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न भइसकेको छ । महाकाली नदीमा बनेको मोटरेबल पुल, छ लेनको सडक लगायतका पूर्वाधारले बन्दरगाह निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतीय पक्षले दोधारा चाँदनी–१ गडिगोठसम्म बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याकसमेत खोलेको छ । ट्र्याक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रको काम अगाडि बढ्ने छ । यो मार्गले नेपाल र भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ ।

दुई दशकअघिदेखि चर्चामा रहेको बन्दरगाह निर्माणस्थलको गत फागुन १ गते प्रधानमन्त्री प्रचण्डले निरीक्षण गर्नुभएको थियो । तीन वर्षमा बन्दरगाह निर्माण गर्ने गरी भारतसँग सम्झौता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो । दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिक रूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने तथा यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।