तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डे ।
काठमाडौं — प्रहरी हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी मानिएका सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकार गर्नुभएको छ ।

काठमाडौं जिल्ला अदालतमा बयान दिँदै पाण्डेले हतास मनस्थितिमा रहेको बेलामा आफुले नोटबुकमा वैयक्तिक भावना लेखेको बताउनुभएको छ । निलम्बित सचिव पाण्डेले ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ । सोही दिन राति बस्नेगरी म घर बाहिर गएको थिए । बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएको रहेछ’ भनि बयान दिनुभएको थियो ।

पाण्डे प्रहरी हिरासतमा रहेका बेला उक्त नोट लेखेर निजी सचिव नरेन्द्र केसीमार्फत पूर्वमन्त्री बालकृष्ण खाँणलाई पठाएको र आफूलाई आकस्मिक रुपमा पक्राउ गर्न आएको प्रहरीलाई छल्ने क्रममा खाँणले उक्त नोट च्यातेर फाल्नुभएको थियो ।

उक्त नोटमा केशव दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुप¥यो । नभए मन्त्रीज्यू समेतको मुद्दा जानसक्छ भन्नेकुरा उक्त नोटमा लेखिएको थियो । अदालतमा इन्कारी बयान दिएर मात्र नहुने भन्दै पाण्डेले म्याद थप भएको एक साताभित्र जुन सुकै हातलमा मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुराकानी नै भएको छैन भनेर पुनः बयान गराउनुपर्ने सन्देश पूर्वगृहमन्त्री खाँणसम्म पठाउनुभएको थियो ।

प्रहरीले २८ बैशाख २०८० मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्दा प्रहरीले खाँणको निवासबाट नोटबुक, डायरी र सम्पत्ति विवरण लगायतका कागजात बरामद गरेको थियो । खाँणले निवासमा प्रहरी आउनुसाथ त्यहाँ रहेको उक्त टिपोट च्यातेर फाल्नुभएको थियो । बरामद गरिएको टिपोटलाई प्रहरीले विधिविज्ञान प्रयोगशालाबाट च्यातिएको टिपोट जोड्नुका साथै त्यसमा लेखिएको विवरण हुबहु उतारेको थियो ।

प्रयोगशालाबाट जोडिएको टिपोटको अक्षर सचिव पाण्डेकै भएको पुष्टि भयो । जिल्ला अदालत काठमाडौंमा पेश भएको आरोपपत्र अनुसार उक्त टिपोट दसी प्रमाण त हो नै, लिखत परिक्षणका क्रममा सचिव पाण्डेले लेखेको पुष्टि भएको सन्देशमार्फत उच्च राजनीतिक हस्तक्षेपमार्फत अनुसन्धान प्रभावित पार्ने चाहना राखेका देखियो ।

प्रहरी हिरासतमा रहेका सचिव पाण्डेले बयानका क्रममा ‘पक्राउ पर्ने सूचना भएपछि मानसिक दवाबमा लेखेको हुँ पठाउने प्रयोजनले लेखेको होइन’ भन्दै उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन’— भन्नुभएको छ ।

यता पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफू पक्राउ पर्ने कल्पनै नगरेका बयानका क्रममा बताउनुभएको छ । बैशाख २७ गते आफ्नै निवासबाट पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री खाँणले आफ्नो साथमा रहेको पाण्डेले लेख्नुभएको टिपोट च्यातेर फाल्नुभएको थियो ।

प्रयोगशालाबाट जोडिएको टिपोटलाई नै प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणको रुपमा पेश गरेको छ । तर पूर्वगृहमन्त्री खाँणले ‘मैले कसैलाई केही भनेको छैन । च्यातिएको कागजको टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन’— भनि अदालतमिा बयान दिनुभएको छ ।

जिल्ला अदालतमा शुक्रबार गरेको ७ पृष्ठ लामो बयानमा पूर्वगृहमन्त्री खाँणले पटकपटक ‘यो विषय मलाई जानकारी भएन, मलाई थाहा भएन, भनेर बयान दिनुभएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिनुभएका पूर्वमन्त्री खाँणले ‘उनीहरुको जीवन जीउन सहज बनाउन मन्त्रीपरिषद्ले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरिएको हो । यो प्रस्ताव भुटानी शरणार्थीहरुको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो’ – भनि हिजो शुक्रबार अदालतमा बयान दिनुभएको थियो ।