फाइल तस्वीर
काठमाडौं — नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक सहभागी हुने भएका छन् । अनुष्ठान आयोजक श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व शान्तिको सङ्कल्पले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रमा अनुष्ठान गरिने संस्थाका अध्यक्ष अविराज आचार्यले जानकारी दिनुभयो ।

संस्थाले वैदिक सनातनी मार्गबाट धर्म संस्कृति, ज्योतिष, वास्तु, बाल संस्कार, शिक्षा, स्वास्थ्यलगायत १८ क्षेत्रमा सेवामूलक काम गरिरहेको उहाँले बताउनुभयो । यही जेठ २७ गते पशुपति क्षेत्रको हंसमण्डपमा हुने कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने तय भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ भारतका पीठाधीश स्वामी समर्थ गुरु माऊली श्री अण्णा साहेव मोरे पनि आउनुहुनेछ । उहाँको सङ्कल्पमा आर्थिकमन्दीबाट छुटकारा र विश्व शान्तिका लागि अनुष्ठान गर्न लागिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवं नेपाली सेनाका अवकाशप्राप्त रथी अमर पन्तले भारतको महाराष्ट्रको नासिकमा रहेको दक्षिण गोदावरी र नेपालको ललितपुरमा रहेको उत्तर गोदावरीका बीचको धार्मिक सम्बन्धलाई पनि जनस्तरमा स्थापित गर्न स्वामीको आगमन र अनुष्ठानले सहयोग गर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख माधव थापाले अनुष्ठानमा इच्छुक सबैले भाग लिन सक्ने जानकारी दिनुहुँदै आर्थिकमन्दी, दैवी प्रकोप र अशान्ति हटाएर विश्वशान्तिको शङ्खघोष पशुपति क्षेत्रबाट गर्न लागिएको बताउनुभयो ।