फाइल तस्वीर
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै अभियुक्तहरुले बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमध्ये १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना अझै फरार रहेका छन् ।

पक्राउ परेका १८ जना मध्ये पूर्वगृहमन्त्री खाँण, भुटानी शरणार्थी नेता रिजाल र ललितपुर निवासी महर्जनसँगमात्र बयान लिन बाँकी रहेकोले उनीहरुको बयान आज लिने काम भैरहेको छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ । हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सात घण्टा लामो बयान लिइएको थियो ।