तस्वीरः शरणार्थी प्रकरणका आरोपी एमालेका सांसद् निलम्बित सचिव टोपबहादुर रायमाझी ।
काठमाडौं — ‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् । चार पटक सांसद भएँ, उप–प्रधानमन्त्रीसम्म भएको मान्छे हुँ राज्यको लागि काम गर्नेले भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने कल्पना पनि गर्न सकिँदैन ।’

यो भनाई हो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेकपा एमालेका सांसद् एवम् निलम्बित सचिव टोपबहादुर रायमाझीको । उनले जिल्ला अदालत काठमाडौंमा न्यायाधीशका सामु बयान दिनेक्रममा भनेका अभिव्यक्ति हुन् ।

भुटानी शरणार्थी प्रकरणमा बयान दिन काठमाडौं जिल्ला अदालतको इजलासमा हिजो बिहीबार बयान दिंदै सांसद रायमाझीले प्रहरीको हिरासतमा आफुलाई ‘टर्चर’ दिएको बयान दिएका थिए । न्यायाधीश सामु बयान दिनुअघि रायमाझीले अधिवक्ता करुणाकर मल्लिक र आकृति रायमाझीसँग परामर्श गरेका थिए ।

वैशाख ३१ मा पक्राउ परेका रायमाझीविरुद्ध एकजना पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा ‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर पैसा लिएको आरोपमा जाहेरी दिएका थिए । बयानका क्रममा अभियुक्त रायमाझीले आफू पक्राउ परिसकेपछि योजनाबद्ध जाहेरी दर्ता गरिएको जिकिर गर्दै ‘जाहेरी योजनाबद्ध आएको छ, म जाहेरवालालाई चिन्दिनँ श्रीमान्’— भनेका थिए ।

बयानकै क्रममा उनले शरणार्थी प्रकरणका योजनाकार सानु भण्डारीसँग आफुले पैसा नलिएको तर छोरा सन्दीप र सानु भण्डारी व्यापारिक साझेदार भएको भनेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार मानिएका रायमाझीलाई भण्डारीले १ करोड ६० लाख नगद दिएको बयान दिएका छन् ।

सानु भण्डारीको घरमा भेटिएको डायरीमा भेटिएको ‘लेनदेन रेकर्ड’को आधारमा पक्राउ परेका रायमाझीले डायरीको हिसाबबारे भने–‘डायरीको हिसाब मलाई थाहा भएन ।’ डायरी अध्ययन गरेका एकजना प्रहरी अधिकृतका अनुसार रायमाझीलाई ‘मामा’ सम्बोधन गरेर सानुले पटक–पटक रकम दिएको हिसाब राखेको भेटिएको छ ।

एमाले सांसद् रायमाझीका छोरा सन्दीप र भण्डारी सहित पाँच जना मिलेर कम्पनी खोलेको र व्यापारमा साझेदार रहेको कुरा उल्लेख गर्दै अभियुक्त रायमाझीले ‘व्यापारको हिसाब मलाई थाहा भएन, छोरालाई थाहा छ’— भनि बयान दिएका छन् ।

पूर्व सभासद् आङटावा शेर्पाले पनि हिजो बिहीबार आफ्नो बयान पुरा गरे । शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका सानु भण्डारी पक्राउ परेपछि उनका दाई राजुलाई ३० लाख दिएर ‘कागज’ बनाएका आङटावाले त्यसबारे बयान दिएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले लिएको पैसा फिर्ता गर्ने शर्तमा राजु भण्डारीसँग आङटावाले कागज गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । इजलासमा शेर्पाले सो कागज पेश गर्दै ‘राजु भण्डारीसँग मेरो लेनदेन कारोबार छ’ भनि बयान दिएका थिए ।

उनले आफूलाई प्रहरीले पक्राउ गरेपछि कुटपिट गरेको जिकिर गर्दै अदालतमा बयान दिएका थिए । बयानका क्रममा उनले ‘प्रहरीले मलाई कुटपिट गरेर बयान गराए, घाइते छु श्रीमान्’— भनेका थिए । तर प्रहरीले भने शेर्पा पक्राउ परेकै दिन बिहान शौचालयमा लडेर घाइते भएको उल्लेख गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १५ जनाको बयान सकिएको छ । आज शुक्रबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदैछ ।

सबै आरोपीले प्रहरीलाई दिएको बयान र अदालतमा दिएको बयान फरक देखिएको छ । यस प्रकरणमा संलग्न देखिएका ‘हाईप्रोफाइ’का भनिएका उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँडसहितका केही व्यक्तिहरु धरौटीमा रिहा हुनसक्ने आशङ्का गर्न थालिएको छ ।

यस प्रकरणलाई विभिन्न कोणबाट तुहाउने प्रयास भएको एकथरीको भनाइ छ । यस प्रकरणमा अरु थुप्रै ‘हाईप्रोफाइ’का नेता र प्रहरी अधिकृतहरुको संलग्नता रहेको बताइन्छ । ‘हाईप्रोफाइ’का राजनीतिज्ञ, कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता देखिएकोले नक्कली भुटानी प्रकरण बिचैमा तुहिने आम नागरिकको बुझाइ छ ।