तस्वीरः आंशिक बदली रहेको मौसम ।
काठमाडौं — नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज बिहीबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख ।

तराई क्षेत्र विशेषगरी मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा–हुरी आउन सक्ने सम्भावना रहेको छ । आज रातिको मौसममा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली भई एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।