मकवानपुर — बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो ।
बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलगायत नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकामा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिकरुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो । उहाँले नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको अवगत गराउँदै उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उक्त सङ्कल्प प्रस्तावलाई दलगतरुपमा नेकपा ९माओवादी केन्द्र० बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा ९एकीकृत समाजवादी० पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गर्नुभएको थियो ।
सङ्कल्प प्रस्ताव पेस हुनुअघि प्रदेशसभा नियमावलीको नियम निलम्वन गरिएको थियो । सत्तारुढ दल माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम ९१० बमोजिम निलम्बन गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।