तस्वीरः बागमती प्रदेशसभा ।
मकवानपुर — बागमती प्रदेशसभा बैठक बस्दैछ । बैठक आज बुधबार अपराह्न १:०० बजे बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको हो ।

उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आवको नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो । सो बैठकमा पेस भएको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्कट्टेलले संसद्मा टेबुल गर्नुभएको थियो ।

प्रदेशसभा बैठक बस्नुअघि बिहान ११:०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रमुख सचिव खड्काले बताउनुभयो । उहाँका अनुसार सो कार्यव्यवस्था बैठकले सदनको कार्यसूची निर्माण गर्नेछ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य हुनुहुन्छ ।