तस्वीरः सन्दीप लामिछाने ।
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका जानबाट बञ्चित भएका छन् । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई अदालती प्रक्रियाका कारण प्रशिक्षणका लागि दक्षिण अफ्रिका भ्रमणमा जानबाट रोकिएका हुन् ।

क्यानले जेठ १५ गते घोषणा गरको विश्वकप छनोटको १६ सदस्यीय टोलीमा सन्दीपको नाम समावेश गरिएको छ । विश्वकप छनोट खेल असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ । विश्वकप छनोट अघि अन्तिम तयारी गर्न नेपाली टोली आज मङ्गलबार राति दक्षिण अफ्रिका जाँदैछ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा मङ्गलबार अन्तिम टुङ्गो लाग्न नसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसक्दा सन्दीपविरुद्धको बलात्कारको मुद्दाको फैसला आउन अझै केही समय लाग्ने देखिएको छ ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ । पूर्व आदेशअनुसार नै गर्नुभनेको थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम अझै बाँकी भएकाले न्यायाधीश राईको इजलासले सो आदेश दिइएको हो । मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।

२०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा विसं २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा लामिछानेमाथि अदालतमा मुद्दा चलिरहेको छ ।