साङ्केतिक तस्वीर
नेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं को बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ न ंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।