तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुहुँदै ।


काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।मन्त्री महतका अनुसार सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

पर्यटन क्षेत्रका लागि चालु आवमा नौ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करिब अढाई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । पर्यटन प्रवद्र्धन गर्न सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा गरेको छ ।

यसैगरी नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ । बजेटमा ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने र सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पु¥याइने उल्लेख छ ।

त्यस्तै, मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ भने पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिनेसमेत बजेटमा उल्लेख छ । पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने’ अर्थमन्त्रीले बताउनुभएको छ ।

सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन
बजेटमा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ, भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत बजेटमा उल्लेख छ ।


स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने कुरा बजेटमा उल्लेख गरिएको छ ।

हिमालको पानी ब्राण्डिङ, गाँजाखेतीको सम्भावना अध्ययन
यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा महतले नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानीको ब्रान्डिङ गर्ने र निर्यात गर्न आवश्यक सहजीकरण गरिने बताउनुभएको हो ।

त्यस्तै, औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ । पशुपन्छीको महामारी नियन्त्रणका लागि नेपालमै भ्याक्सिन उत्पादन गर्ने योजना रहेको बजेटमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवम् मानव संसाधन विकासलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभएको छ । वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी र प्रविधि आकर्षित गरिने अर्थमन्त्रीको भनाइ छ ।
ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने विषयलाई पनि बजेटले समेटेको छ ।

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री महतले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने कुरा बताउनुभएको छ । कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चालनमा उपयोग गरिने अर्थमन्त्री महतले उल्लेख गर्नुभएको छ ।