विराटनगर — कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा उत्रिएका दुई दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बजेट अधिवेशनको बैठक अवरुद्ध गर्न खोज्ने प्रदर्शनकारीलाई विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रदेश सभा सदस्यहरूलाई बैठकमा सहभागी हुन अवरोध पु¥याएको भन्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ ।

प्रदेशको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको छ ।


जिल्ला प्रसाशन कार्यालयले प्रदेश सभा वरिपरि देवकोटा चोक आसपासको क्षेत्रसहित विराटनगरका पाँच ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पक्राउ पर्नेहरुमा लिम्बुवान फोर्सका केही युवा कार्यकर्ताहरु पनि रहेका छन् । २०७९ पुस १७ गते कोशी प्रदेश नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि दोश्रो तथा बजेट अधिवेशन हुँदैछ ।
प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई मध्यनजर गर्दै शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने सुरक्षामा कडाई गरिएको छ ।