फाइल तस्वीरः नेपाली राष्ट्रिय महिला भलिबल टिम ।
काठमाडौ.— एनएससी काभा महिला भलिबल च्यालेञ्ज कप प्रतियोगिताका फाइनलमा भारत प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधि दावेदार भारतले अब फाइनलमा आजै हुने अर्को सेमिफानलको विजेता टिमसँग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइलन खेल आयोजक राष्ट्र नेपाल र काजकिस्तानबीच अहिले पाँच बजे सुरु हुँदैछ । यो खेलमा नेपालले काजकिस्तानलाई पाखा लगाउन सके नेपाल र भारतबीच फाइनलमा भिड्ने छन् । नेपालले घरेलु दर्शक र गृह मैदानको उपयोग गर्न सके काभा महिला भलिबल च्यालेञ्जमा ह्याट्रिक गर्ने स्वर्णीम अवसर मिल्नेछ ।

नेपालमा जारी यस प्रतियोगितामा पहिलो पटक सामेल भएका भारत र काजकिस्तान दुवै टिम अब्बल मानिएका छन् । त्यसो त नेपाली टिमलाई कम आङ्कलन गर्नु अन्याय हुनेछ । नेपालले आज सेमिफाइनलमा आफुभन्दा बलियो मानिएको काजकिस्तानलाई हराउन सके कम्तिमा पनि दोस्रो स्थान पक्का गर्नेछ ।

अविजित यात्रा गरेको भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीच हुने सेमिफाइनलको विजेता जेठ १४ गते आईतबार हुने फाइनलमा भिड्ने छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी यस प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, भारत, श्रीलङ्कालगायतका आठ राष्ट्रको सहभागिता रहेको छ ।