काठमाडौं — सरकारले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण लिने भएको छ । आज मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर (१५ अर्ब ८० करोड रुपैयाँ) अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो । मन्त्रिपरिषद्ले अमेरिकाले शिक्षा आयोजनाका लागि १ करोड ७० लाख (२ अर्ब ५९ करोड रुपैयाँ) अमेरिकी डलर सहायता स्वीकृत गरेको छ । जापानले मानव संशोधन विकास छात्रवृत्तिका लागि दिने ४१ करोड अनुदान पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

यसैगरी अर्थले पेस गरेको भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।