काठमाडौं — नेपाल धितोपत्रबोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।

यहि जेठ ८ गते समेमबार बसेको सञ्चालक समितिको बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले बताउनुभयो । (आजको आर्थिक अभियान दैनिकबाट)