फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणका आरोपीहरु
काठमाडौं — जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा अभियोजन दर्ता गर्ने भएको छ । अदालतमा अभियोज दर्ता गर्ने तयारी भएको सरकारी वकिलको कार्यालयले जनाएको हो ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकबाट करोडौं रकम असुलगरी ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताउनुभयो । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।

उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । आज बुधबार ६० दिन पुग्दैछ । यस घटनामा एक सय १३ जना पीडितले २७ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अदालतमा अभियोजन गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

शरणार्थी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का निलम्बित सचिव एवम् प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव, (हालका निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।