फाइल तस्वीरः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश ।

जनकपुरधाम — मधेस प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेस सरकारमा आज नेपाली काङग्रेसका दुई जना र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक जना मन्त्री बन्ने भएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि खाली रहेको मन्त्रालयमा गठबन्धन दलबाट मन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्त मन्त्रीमध्ये नेपाली काङ्ग्रेस मधेस प्रदेश संसदीय दलका नेता समेत रहनु भएका कृष्णकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको काङ्ग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताउनुभयो ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ ।

यसअघि कृषि मन्त्रालयमा जनमतका इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्हालिरहनु भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन । यसअघि मधेस प्रदेश सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्र भएका थिए ।