फाइल तस्वीरः
काठमाडौं – नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत आजको खेल घरेलु टिम नेपाल र पाहुना टोली बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आज दोस्रोखेल खेल्न लागेको हो ।

समूह ‘ए’ मा रहेको घरेलु टिम नेपाल आज दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको हिजो भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको थियो । आजको खेलमा जित निकाल्न सके नेपाल अन्तिम चारमा पुग्नेछ ।

हिजो भारत र बङ्गलादेशबीच भएको पहिलो खेलमा भारतले जित निकालेको थियो । तुलनात्मक रुपमा कमजोर मानिएको पाहुना टोली बङ्गलादेशविरुद्ध सहज जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाउन सक्छ । समूह ‘ए’को बलियो टिम मानिएको भारतसँग प्रतियोगिताको आफ्नो तेस्रो खेल खेल्नेछ । तेस्रो खेलमा नेपाललाई भारतलाई हराउन सके समूहमा सतप्रतिशत जित निकाल्नेछ ।

आजको अर्को खेलमा भारत र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ भने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभडहलमा हुनेछ ।

यस्तै समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलङ्का र काजकिस्तान भिड्ने छन् । यी दुई टिमको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ कभर्ड हलमा नै हुनेछ । काजकिस्तानले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदा उज्वेकिस्तानले श्रीलङ्कालाई हराउँदै अङ्क जोडेको छ । आजका खेलमा काजखस्तान र उज्वेकिस्तानले जित निकाल्न सके यी दुवै टिम समूह‘बी’ बाट सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनलमा समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ भने सेमिफाइनलकै अर्को खेल समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलको को प्रतिस्पर्धा सेमिफाइनलका विजेता दुई टिमबीच हुनेछ ।